काठमाडौँ । जेनजी अभियन्ताहरूले आसन्न निर्वाचनलाई मुलुकमा विधिको शासन र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन्।
उनीहरूले लोकतन्त्र, सुशासन, विकास र राष्ट्रिय एकता मजबुत बनाउन निर्वाचन सफल बनाउनु सबै सरोकारवालाको साझा दायित्व भएको धारणा व्यक्त गरेका हुन्। स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनबाट सक्षम तथा जिम्मेवार जनप्रतिनिधि चयन हुने विश्वास अभियन्ताहरूले व्यक्त गरे।
जेनजी अभियन्ता सुप्रिया शाहीले सचेत मतदाताको सक्रिय र अर्थपूर्ण सहभागिताबाट धाँधलीरहित निर्वाचन सम्पन्न हुनसक्ने बताइन्। निर्वाचनपछि गठन हुने सरकारले सुशासन, पारदर्शिता र जवाफदेहितामा आधारित शासकीय अभ्यास गर्नुपर्नेमा उनले जोड दिइन्।
उनले भनिन्, “जेनजी पुस्ता देशमै अवसर खोजिरहेको छ, त्यसका लागि निर्वाचनपछि बन्ने सरकारले युवामैत्री नीति र व्यवहार देखाउनुपर्छ।”
अभियन्ता अर्णव चौधरीले युवापुस्ताले उठाउँदै आएका मुद्दालाई निर्वाचनपछि बन्ने सरकारले आत्मसात् गर्ने विश्वास व्यक्त गरे। उनले निष्पक्ष, शान्तिपूर्ण र विविधताको सम्मान हुने गरी व्यापक जनसहभागितासहित निर्वाचन सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताए।
राजनीतिक दलहरूले आन्तरिक लोकतन्त्र सुदृढ गर्नुपर्ने र समानुपातिक निर्वाचन प्रणालीमा संविधानको मर्मअनुसार उम्मेदवार छनोट गर्नुपर्ने चौधरीको भनाइ छ। साथै निर्वाचनपछि गठन हुने सरकारले भ्रष्टाचार नियन्त्रण, कानुनको शासन, आधुनिक शिक्षा प्रणाली, लैङ्गिक समानता, सामाजिक न्याय, वातावरण संरक्षण, स्वदेशमै रोजगारी सिर्जना तथा डिजिटलाइज्ड सार्वजनिक सेवामा विशेष ध्यान दिनुपर्ने उनले बताए।
जेनजी फ्रन्टका सुदूरपश्चिम प्रदेश संयोजक नवीन विष्टले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरिनुका साथै सबै नागरिकको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
उनले भने, “देशमा भ्रष्टाचार अन्त्य भई सुशासन कायम हुनुपर्छ। जेनजीका मागहरू सम्बोधन हुनुपर्ने र जेनजी जनआन्दोलनका प्रतिनिधि तथा नेपाल सरकारबीच भएको सम्झौताको प्रभावकारी कार्यान्वयन आवश्यक छ।”
— सूचना एक्सप्रेस (SuchanaExpress.com)
